सिन्धुली, असोज २५ गते । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगितामा आयोजक फिक्कल गाउँपालिकाका महिला र पुरुष दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन्। आइतबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा लिग चरणका खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो।
पुरुषतर्फ समूह ‘ए’ मा गोलबजार नगरपालिका समूह विजेता र फिक्कल गाउँपालिका उपविजेता बने। गोलबजारले टोखालाई १–० ले पराजित गर्दा फिक्कलसँग १–१ को बराबरी खेलेको थियो। फिक्कलले टोखालाई २–१ ले हराएको थियो। अब पुरुषतर्फ पहिलो सेमिफाइनलमा गोलबजारले कटारी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा बूढानीलकण्ठ नगरपालिका र फिक्कल गाउँपालिकाबीच खेल हुनेछ। समूह ‘बी’ मा बूढानीलकण्ठले कटारीलाई ३–१ ले पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। महिलातर्फ समूह ‘ए’ बाट बूढानीलकण्ठ नगरपालिका विजेता र टोखा नगरपालिका उपविजेता बने। बूढानीलकण्ठले एक जित र एक बराबरीको नतिजा निकाल्दा टोखाले दुवै खेल बराबरी खेलेको थियो। समूह ‘बी’ मा कटारी नगरपालिका विजेता र फिक्कल गाउँपालिका उपविजेता बने।

दुवै टोलीले एक जित र एक बराबरी खेलेका थिए। कटारीले लुम्बिनी नगरपालिकालाई ६–० ले पराजित गर्दा फिक्कलसँग बराबरी खेलेको थियो। फिक्कलले लुम्बिनीलाई २–० ले हराएको थियो। महिलातर्फ पहिलो सेमिफाइनलमा बूढानीलकण्ठ र फिक्कल भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा कटारी र टोखाबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका सेमिफाइनल, तेस्रो स्थानका लागि हुने खेल र फाइनल सोमबार सञ्चालन हुनेछन्। फिक्कल गाउँपालिकाको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा आइतबारदेखि सुरु भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको महिला तथा पुरुष दुवैतर्फका विजेताले ३० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। दुवै विधाका उत्कृष्ट खेलाडीलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले रेफ्रीलाई बल हस्तान्तरण गरेर संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष राजु बरालले स्थानीय तहमा रग्बीलगायत खेलकुद गतिविधिको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भौगोलिक तथा विकासका दृष्टिले गाउँपालिकालाई जिल्लाको ‘कर्णाली’का रूपमा हेरिए पनि खेलकुदको विकासमा भने निरन्तर सहयोग गरिने बताए। नेपाल रग्बी सङ्घका अध्यक्ष देवकोटाले प्रतियोगिता आयोजना गरेकोमा फिक्कल गाउँपालिकालाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले निरन्तरता पाउने विश्वास व्यक्त गरे। प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ।











