सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका वडा नं १२ का नेकपा एमालेका संगठित सदस्यहरूले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका संगठित सदस्य अच्युत पराजुली र बिवेक अधिकारी एमाले त्याग्दै कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नं १२ द्वारा आयोजित उम्मेद्बार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनिहरू कांग्रेस प्रवेश गरेका हुन ।
नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्य, सिन्धुपाल्चोक क्षेत्र नं २ का उम्मेदवार बंशलाल तामाङले पार्टीमा स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै तामाङले पार्टी प्रवेश गर्ने सबैलाई धन्यवाद दिँदै क्षेत्रको विकास र समृद्धिका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नवप्रवेशी अच्युत पराजुलीले बंशलाल तामाङले इन्द्रावती गाउँपालिकामा गरेका विकास कार्यबाट आफू प्रभावित भएको बताए। “उहाँले इन्द्रावतीमा गरेका कामहरू देखेर म आकर्षित भएँ । समग्र क्षेत्र नं २ को विकास गर्न उहाँ सक्षम हुनुहुन्छ भन्ने विश्वासका साथ हामी साथ दिन तयार भएर आएका हौँ,” उनले भने।
यसैबीच, इन्द्रावती गाउँपालिका वडा नं १२ का लाल बहादुर दनुवार र सानुकान्छा दनुवार पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
कांग्रेसले पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा पार्टी प्रवेशको लहर बढ्दै गएको दाबी गरेको छ ।













