सिन्धुपाल्चोक-मेलम्ची नगरपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरि युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय मेलम्चीका युवामाझ कांग्रेसप्रति आकर्षण बढ्दै गएको देखिएको छ।

नेपाली कम्युनिस्ट पार्टी परित्याग गरि मेलम्ची नगरपालिका वडा नं. १२ का मान बहादुर तामाङ र भिम बहादुर तामाङ कांग्रेसमा प्रवेश गरेका हुन्। त्यसैगरी, नेकपा एमाले परित्याग गरि मेलम्ची–६ का सविन देउजा पनि नेपाली कांग्रेसमा आबद्ध भएका छन्।
नवप्रवेशीहरूलाई कांग्रेस केन्द्रीय सदस्य शिव सुनारले टीका तथा खादा लगाई पार्टीमा स्वागत गरे। स्वागत गर्दै उनले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माण र जनताको अधिकारको रक्षा गर्न कांग्रेस सधैँ अग्रसर रहेको बताए। उनले नयाँ पुस्ताको सहभागिताले पार्टी अझ सशक्त र ऊर्जावान बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मेलम्ची नगर तरुण दलका अध्यक्ष श्याम लामा तथा मेलम्ची–६ का वडा अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले नवप्रवेशीलाई पार्टीको सिद्धान्त, विचार र संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए।
पछिल्लो समय मेलम्ची क्षेत्रमा विभिन्न दलका कार्यकर्ता तथा युवाहरू कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दो छ। स्थानीय तहको विकास, सुशासन र पारदर्शिताको एजेन्डासहित कांग्रेसले अघि सारेका कार्यक्रमप्रति आकर्षण बढ्दै गएको नेताहरूले बताएका छन्।












