सिन्धुपाल्चोक- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको गत शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमाथि प्रतिष्ठानकै सदस्यहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। निर्णायक मण्डलले विवादबीच नै अधिवेशन सम्पन्न गराउँदै नयाँ कार्यसमिति घोषणा गरेको भन्दै असन्तुष्ट पक्षले सामूहिक राजीनामा केन्द्रमा बुझाउने घोषणा गरेको छ।
अधिवेशनमा अध्यक्ष पदका लागि गायक सुरेन्द्र गिरी र सुवास गहतराजले उम्मेदवारी दिएका थिए। सोही बिचमा प्रतिष्ठानको नेतृत्व चयनलाई लिएर विवादले उग्र रूप लिएको थियो। निर्णायक मण्डलले विवादको उचित समाधान नगरी र सदस्यहरूको भावनालाई बेवास्ता गर्दै अधिवेशनको नतिजा सार्वजनिक गरेको असन्तुष्ट सदस्यहरूको भनाइ छ।

असन्तुष्ट पक्षको समूहमा केदार गजुरेल आजिवन सदस्य सोही संस्थाका अर्की आजीवन सदस्य सीता दुलाल, पुरानै कार्यसमिति सदस्यहरू कुमार चौलागाईं, भरत गजुरेल, रेणुका खतिवडा, सरु बजगाईं, हिरा सुनुवार, सरिता खड्का, लिला आचार्य, लगायत ३० जनाको टोली रहेको छ।
उनीहरूका अनुसार, “जबर्जस्ती अधिवेशन समाप्त गरी कार्यसमिति चयन गरिएको” भन्दै राजीनामा दिने तयारीमा रहेको जनाएका छन्। उनीहरूले प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा आफ्नो असहमतिसहित राजीनामा बुझाउने जानकारी दिएका हुन्।
लोक तथा दोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित यस प्रतिष्ठानको जिल्ला कार्यसमितिमा देखिएको यो विवादले जिल्लाको लोककला क्षेत्रमा समेत तरङ्ग पैदा गरेको छ। प्रतिष्ठानजस्तो गरिमामय संस्थाको नेतृत्व चयनमा नै विवाद उत्पन्न भएर सामूहिक राजीनामासम्मको अवस्था आउनुले यसको आन्तरिक व्यवस्थापनमाथि प्रश्न खडा भएको छ। विवादका सम्बन्धमा प्रतिष्ठानको नवनिर्वाचित कार्यसमिति र केन्द्रीय नेतृत्वको धारणा आउन बाँकी छ।







