काठमाण्डाै – मेलम्ची र पाँचपोखरी क्षेत्रका चार युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।मेलम्ची नगरपालिका–६ तालामाराङ र पाँचपोखरी थाङपाल गाउँपालिकाका युवाहरूले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी परित्याग गर्दै कांग्रेस रोजेका हुन्।

एमाले परित्याग गरी तालामाराङका सुजन तामाङ र रामबहादुर तामाङ कांग्रेस प्रवेश गरेका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी पाँचपोखरी थाङपालका गौरव धिताल तथा एमाले परित्याग गरी सोही गाउँपालिकाका संगीत लामिछाने कांग्रेसमा आबद्ध भएका छन्।
नवप्रवेशीहरूलाई कांग्रेस केन्द्रीय सदस्य शिव बहादुर सुनार र प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक क्षेत्र नं. २ का उम्मेदवार बंशलाल तामाङले पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै सुजन तामाङले कांग्रेसले ‘जेनजी आन्दोलन’लाई आत्मसात गर्दै युवालाई अघि सार्ने नीति लिएको बताए। उनले पार्टी सभापति गगन थापाले युवालाई नेतृत्वमा ल्याउन जोड दिएको उल्लेख गर्दै उर्जावान नेतृत्व र नयाँ व्यक्तिलाई अवसर दिने अभ्यासका कारण आफू कांग्रेसप्रति आकर्षित भएको बताए।
त्यस्तै गौरव धितालले कांग्रेसले दाग रहित व्यक्तिलाई छनोट गरी नयाँ भिजन प्रस्तुत गर्ने भएकाले आफू पार्टीमा आएको बताए। “सहीलाई सही र गलतलाई गलत भन्न सक्ने पार्टी भएकाले कांग्रेस मन परेको हो,” उनले भने। साथै उनले कांग्रेसमा आबद्ध हुन चाहने नयाँ साथीहरूलाई स्वागत समेत गरे।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।













