सिन्धुपाल्चोक । प्रतिनिधिसभा सदस्य भरत प्रसाद पराजुलीले सुनकोशी गाउँपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्नुभएको छ।सांसद पराजुलीले गाउँपालिकाका च्याने, यमुना डाँडा, सुनखानी, टिमुरे, पार्टी डाँडा लगायतका टोल–बस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, आवश्यकता तथा विकासका प्राथमिकताबारे जानकारी लिनुभएको हो।
भेटघाटका क्रममा स्थानीयवासीले सडक तथा यातायात, खानेपानी, गुठीसम्बन्धी समस्या, बाँदर तथा बँदेल नियन्त्रण, शिक्षा र स्वास्थ्य लगायतका विषयमा आफ्ना समस्या तथा मागहरू राखेका थिए।स्थानीयका गुनासा तथा सुझाव सुन्दै सांसद पराजुलीले आगामी दिनमा विकासका योजना निर्माण तथा कार्यान्वयन गर्दा स्थानीय जनताको आवश्यकता, सुझाव र प्राथमिकतालाई आधार बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।

उहाँले जनतासँग प्रत्यक्ष संवादमार्फत स्थानीय समस्याको पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानका लागि पहल गर्ने धारणा राख्नुभएको थियो।स्थानीयवासीले पनि जनप्रतिनिधिले गाउँ–बस्तीमै पुगेर समस्या सुन्ने र आवश्यकताका आधारमा विकासका योजना अघि बढाउने प्रयासलाई सकारात्मक रूपमा लिँदै आफ्ना प्राथमिकताका विषयमा निरन्तर पहल गर्न आग्रह गरेका छन्।











