सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको क्यान्डिडेट क्लबमा अध्यक्ष पदका लागि उनीहरूले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।
प्राप्त जानकारीअनुसार अध्यक्ष पदका लागि रास्वपाका जिल्ला कमिटी सचिव राजिव हमाल, सहसचिव विदुर खड्का, पूर्वपत्रकार ङेम्लिङ लामा तथा स्थानीय नेताहरू घमेश थापा, उमेश लामा र व्यवसायी उत्तम पराजुलीले आवेदन दिएका छन्।
यद्यपि, रास्वपाले उम्मेदवारीका लागि आवेदन दिनेहरूको आधिकारिक सूची सार्वजनिक गरिसकेको छैन।
गाउँपालिका अध्यक्षका आकांक्षीहरूबाट आवेदन संकलन गरेपछि रास्वपाले नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि समेत आवेदन आह्वान गरेको छ। गाउँपालिका अध्यक्षसँगै वडा अध्यक्ष तथा वडा सदस्य पदका लागि पनि पार्टीले आवेदन खुला गरेको छ। तर, वडा सदस्य पदमा आवेदन दिनेहरूको संख्या भने न्यून रहेको बुझिएको छ।
क्यान्डिडेट क्लबमा आवेदन दिएका व्यक्तिहरूमध्येबाट मात्रै उम्मेदवार छनोट गर्नुपर्ने बाध्यता रास्वपालाई छैन। पार्टीले आवेदन नदिएका व्यक्तिलाई समेत उम्मेदवार बनाउन सक्ने व्यवस्था रहेको छ। विधानअनुसार देशभरका विभिन्न तहमा १५ प्रतिशत उम्मेदवार केन्द्रले आफ्नो निर्णयअनुसार छनोट गर्न सक्ने व्यवस्था रहेको बताइएको छ।
बलेफी गाउँपालिकामा अध्यक्ष पदका लागि ६ जनाले दाबेदारी प्रस्तुत गरेसँगै रास्वपाभित्र उम्मेदवार छनोटलाई चासोका साथ हेरिएको छ। अब पार्टीले कसलाई आधिकारिक उम्मेदवार बनाउँछ भन्ने विषयले स्थानीय राजनीतिक वृत्तमा थप चर्चा पाउने देखिन्छ।













