किरात धर्मावलम्बीका महागुरु तथा समाज सुधारक फाल्गुनन्द लिङ्देन (चेम्जोङ) को १४१औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
विसं १९४२ साल कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दले किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र सामाजिक सुधारका लागि अविस्मरणीय योगदान पुर्याएका थिए। उनले किरात समाजलाई परिवर्तन गर्नका लागि नीति निर्माणसमेत गरेका थिए, जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ। यो ऐतिहासिक मुचुल्का विसं १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो।

किरात समाज सुधारमा उनले पुर्याएको अतुलनीय योगदानको कदर गर्दै नेपाल सरकारले विसं २०६६ मङ्सिर १६ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो। फाल्गुनन्दको निधन विसं २००५ सालमा भएको थियो।
महागुरु फाल्गुनन्द जयन्ती किरात समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी जिल्लाहरू जस्तै ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतका जिल्लाहरूमा विशेष धूमधामका साथ मनाउने गरिन्छ। किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माका अनुसार, राजधानी काठमाडौंमा पनि किरात समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी महागुरु फाल्गुनन्दको योगदानको स्मरण गरिरहेका छन्।








