नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरूलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताएका छन् ।
उनले अहिले नयाँ शक्तिका रूपमा उदाएको राजनीतिक शक्तिले प्राप्त गरेको जनमत कुनै समय वामपन्थी शक्तिहरूले पनि प्राप्त गरेको स्मरण गर्दै त्यसलाई जोगाउन नसक्दा अहिलेको अवस्था आएको टिप्पणी गरे ।
एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपाकालीन समयमा पार्टीभित्र उत्पन्न अन्तरकलहका कारण वामपन्थी शक्तिहरू अहिलेको अवस्थामा पुग्नुपरेको बताए ।
‘एमालेजस्तो पार्टीले चुनावमा प्रत्यक्षतर्फ जम्मा नौ सिट मात्रै जित्नु हाम्रा लागि अकल्पनीय थियो,’ पोखरेलले भने । उनले नेपालमा वामपन्थी जनमतलाई कायम राख्न र थप सुदृढ बनाउन वामपन्थी आन्दोलनको पुनर्जागरण आवश्यक रहेको बताए ।













