बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको प्रमुख आतिथ्यमा आज बलेफी–४ विन्जेलमा अवस्थित विन्ज्याल साना किसान कृषि सहकारी संस्था लि.को ३२ औं साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष तामाङले सहकारीमार्फत किसानको आर्थिक सशक्तिकरणका लागि दूध प्रशोधन, विविधीकरण तथा बजारीकरण प्रक्रियाको सुरुवात गरिने जानकारी दिनुभयो। उहाँले यस पहलले किसानलाई थप आम्दानीका अवसर सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म पु-याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यस अवसरमा अध्यक्ष तामाङले उपस्थित शेयर सदस्य, स्थानीय कृषक र सरोकारवालाहरूलाई विजया दशमी २०८२ का अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै सहकारीको भूमिकालाई अझ सशक्त बनाउन सबैको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।
साधारणसभामा स्थानीय जनप्रतिनिधि, सहकारी पदाधिकारी र किसानहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।













