काठमाडौं-आज कुशेऔँसी, जसलाई पितृऔँसी पनि भनिन्छ, नेपालभर श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। यस दिन देवकार्य र पितृकार्यका लागि अत्यावश्यक मानिने कुश काट्ने र वर्षभरि प्रयोग गर्ने परम्परा रहेको छ।
पुरोहितले मन्त्रोच्चारणपूर्वक काटिएको कुशलाई यजमानका घरमा पुर्याइने चलन छ। घरको ढोकामाथि सिउरिने वा पवित्र स्थानमा राखिने यो कुशले वर्षभरि घरको रक्षा गर्ने विश्वास गरिन्छ। विवाह, श्राद्ध, व्रतपूजा लगायतका मंगलिक तथा पितृकार्यमा यही कुश प्रयोग गर्ने परम्परा छ। शास्त्रीय मान्यताअनुसार कुश आवश्यक परेको दिनमै काटेर प्रयोग गर्नुपर्ने भए पनि सबैका घरमा उपलब्ध नहुने कारणले विशेष दिन अर्थात् कुशेऔँसीमा पुरोहितमार्फत काटेर राख्ने प्रचलन सुरु भएको हो।

यस अवसरमा धार्मिक दृष्टिले मात्र नभई पारिवारिक भावनात्मक सम्बन्धलाई समेत जोड्ने परम्परा पनि छ। लौकिक चलनअनुसार आज छोराछोरीहरूले आफ्ना बुबालाई खानेकुरा, लुगाफाटो र उपहार अर्पण गरी बाबुको मुख हेर्ने दिन मनाउँछन्।
काठमाडौं उपत्यकाका नेवार समुदायमा प्रचलित आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन समयक्रममा अन्य समुदायले पनि आत्मसात् गरेको संस्कृतिविद्हरू बताउँछन्।
यसरी कुशेऔँसी धार्मिक आस्था, पितृकार्य र पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने महत्वपूर्ण दिनका रूपमा नेपाली समाजमा स्थापित भएको छ।













