काठमाडौं –फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीको साधारणसभाले अधिकृत पुँजी ६० करोडबाट बढाएर ७० करोड पुर्याउने र त्यसको २५ प्रतिशत सर्वसाधारणलाई बिक्री गर्ने निर्णय गरेको हो।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा निर्माणाधीन ४.३ मेगावाट क्षमताको फेदीखोला (थुमलुङ) आयोजना आगामी पुस मसान्तसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रारम्भिक लागत ९४ करोड भए पनि गत साउन १५ को बाढीका कारण खर्च बढेर ९८ करोड पुगेको छ। यसमध्ये ४८ करोड रुपैयाँ स्वपुँजी र ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकको ऋणमार्फत जुटाइएको सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए।

साधारणसभाले वन्डर्स इनर्जीको ९ मेगावाट खिम्ती घ्वाङ्गखोला आयोजनामा पाँच करोड र १५ मेगावाट इर्खुवा खोला आयोजनामा १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले २०९० सालभित्र कम्तीमा १०० मेगावाट क्षमताका आयोजना अघि बढाउने योजना पनि सार्वजनिक गरेको छ।
साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक चन्द्रप्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ।













