काठमाडौं — भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ। धर्मशास्त्रअनुसार सज्जनको रक्षा र दुर्जनको विनाशका लागि विष्णुको आठौँ अवतारका रूपमा द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ।
कुरुक्षेत्र युद्धमा अर्जुनलाई दिएको उनका उपदेश नै श्रीमद्भागवत गीता मानिन्छ। श्रीकृष्णको राधा–गोपिनीप्रतिको प्रेम प्रसङ्गका कारण यस महिनाभर झुला उत्सव पनि मनाइन्छ।

आजको दिन काठमाडौंको पाटन मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, गोठाटारको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घ लगायत देशभरका मन्दिरमा विशेष पूजा, रथयात्रा र शोभायात्रा हुँदैछ। भक्तजनहरूले उपवास बसी मध्यरातमा पूजा अर्चना र जाग्राम गरेर भक्ति सङ्गीत गाउने परम्परा छ।













