काठमाडौं – साउन १५ गते आज देशभर खीर खाएर मनाइँदैछ। वर्षा ऋतुमा दूध, चामल, चिनी र मसला मिसाई पकाइने खीर नेपाली परम्पराअनुसार स्वास्थ्यका हिसाबले फाइदाजनक मानिन्छ।
धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार साउन महिनामा दूध उत्पादन बढी हुने, खेतीपाती सकिने र हरियालीले वातावरण रमणीय हुने हुँदा इष्टमित्र र चेलबेटी भेला गराई खीर खुवाउने परम्परा बसेको हो। खीर संस्कृतमा ‘पायस’ भनिने सात्विक आहार हो, जसले पितृकार्य र देवकार्यमा विशेष स्थान पाएको छ।

साउन महिना भगवान् शिवको प्रिय महिना भएकाले पनि दूधजन्य परिकार विशेषगरी खीर चढाइने परम्परा रहेको गौतम बताउँछन्। नेपाली समाजमा असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा मकै, माघ १५ मा घ्यू र पुवा खुवाउने संस्कृति रही आएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’का रूपमा मनाउँदै आएको छ













