मेलम्ची – मेलम्ची नगरपालिकाको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै ४ दिने अभिमुखीकरण तथा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्यता नगर उपप्रमुख उमा प्रधान तथा विशेष आतिथ्यता मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, अनुभव र क्षमतालाई स्थानीय स्तरमै उपयोग गर्दै आत्मनिर्भर बनाउने दिशामा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले नगरभित्रै रोजगारी सिर्जना गर्न सीपमूलक तालिम, उद्यम विकास कार्यक्रम तथा सहुलियतपूर्ण सहयोगमार्फत युवालाई स्वरोजगारतर्फ प्रेरित गरिने उल्लेख गर्नुभयो।

उहाँले युवाहरू विदेशिनुपर्ने बाध्यता कम गर्दै आफ्नै गाउँठाउँमा सम्भावना खोज्ने वातावरण निर्माणका लागि नगरपालिका निरन्तर लागिपरेको बताउँदै उद्यम गर्न चाहने नागरिकलाई आवश्यक सहयोग र सहजीकरण गर्न नगरपालिका सदैव तयार रहेको धारणा राख्नुभयो।
कार्यक्रमका विशेष अतिथि तथा मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्र राज खरेलले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूको सीप र अनुभवलाई स्थानीय स्तरमै उपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकास गर्नु नगरपालिकाको प्राथमिकता रहेको बताउनुभयो। उहाँले पशुपालन, कृषि फर्म तथा व्यापार–व्यवसाय सुरु गरेका सहभागीहरूलाई आवश्यक प्राविधिक सहयोग, तालिम तथा सहजीकरण उपलब्ध गराइने जानकारी दिनुभयो।
त्यस्तै मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालले स्थानीय उत्पादन, कृषि, पशुपालन, पर्यटन तथा साना उद्यममार्फत नगरभित्र प्रशस्त रोजगारी सिर्जना गर्न सकिने धारणा व्यक्त गर्नुभयो। उहाँले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यमशील बन्न प्रोत्साहित गर्दै उद्योग वाणिज्य संघले आवश्यक सहकार्य, परामर्श तथा बजार पहुँच विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले विदेशमा सिकेको सीप र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्न सके आर्थिक समृद्धिको आधार स्थानीय स्तरमै निर्माण गर्न सकिने भन्दै युवालाई व्यवसायमा टिकाइराख्न नगरपालिका र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूले विदेशमा रहँदा भोगेका कठिनाइ, दुःख र समस्याहरू खुलेर साझा गरेका थिए। उनीहरूले पुनः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै ठाउँमा स्वरोजगारका अवसर सिर्जना गर्न नगरपालिकासँग आग्रह गरेका छन्।
कतिपय सहभागीहरूले वैदेशिक रोजगारीबाट फर्किएपछि आफ्नै गाउँठाउँमा पशुपालन, कृषि फर्म, साना व्यापार तथा अन्य व्यवसाय सुरु गरिसकेको जानकारी दिएका छन्। उनीहरूले व्यवसाय विस्तारका लागि प्राविधिक सहयोग, सहुलियतपूर्ण ऋण, तालिम, बजार व्यवस्थापन तथा अनुदानमुखी कार्यक्रम आवश्यक रहेको बताएका छन्।
रोजगार शाखा प्रमुख रञ्जन श्रेष्ठका अनुसार उक्त कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै उद्यमशीलता विकासमार्फत आत्मनिर्भर बन्न प्रेरणा दिएको छ। उहाँले मेलम्ची नगरपालिकाको यो पहलले स्थानीय स्तरमा रोजगार सिर्जना गर्दै वैदेशिक पलायन कम गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ११ की महिला वडा सदस्य तथा व्यवसायी प्रतिमा धिताल, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवास बानियाँ, महिला आत्मनिर्भरता केन्द्रकी प्रतिनिधि कालिमाया वाइवा लगायतको उपस्थिति रहेको थियो।








