काठमाडौँ । सिन्धुपाल्चोकका दुर्गम बस्तीहरूमा खानेपानी पुर्याएर सामाजिक अभियन्ताका रूपमा परिचित भरतप्रसाद पराजुली अहिले संघीय संसदसम्म पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पराजुली प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट विजयी भएका हुन्।
अन्तिम मत परिणाम अनुसार पराजुलीले २४ हजार ४१२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत ल्याए। एमालेका सरेश नेपालले ११ हजार ९६१ र नेपाली कांग्रेसका जंगबहादुर लामाले ११ हजार २६१ मत प्राप्त गर्दै पछाडि परे। यसरी पराजुलीले सापकोटामाथि ७ हजार ८५ मतान्तरले स्पष्ट जित हासिल गरेका हुन्।

रोचक पक्ष के छ भने अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा यही क्षेत्रमा रास्वपाले जम्मा ३ हजार ५०३ मत मात्र पाएको थियो। तर यसपटक पराजुलीको व्यक्तिगत छवि, सामाजिक काम र पार्टीको लहरका कारण चुनावी नतिजा पूर्ण रूपमा बदलिएको देखियो।
२०२५ साल भदौ १९ गते सिन्धुपाल्चोकको साबिक बलेफी गाउँपालिका–६ मा जन्मिएका पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले आफ्नो यात्रा राजनीतिबाट होइन, समाजसेवाबाट सुरु गरेका थिए।
२०५५ सालदेखि उनले सिन्धुपाल्चोकका विभिन्न गाउँहरूमा खानेपानी अभियान सुरु गरेका थिए। माङ्खा गाविसको जोगीडाँडामा ६० भन्दा बढी घरधुरीमा पहिलोपटक धारा जडान गर्दै उनले यो अभियानको थालनी गरेका थिए। त्यसपछि उनले विभिन्न संस्थामार्फत मान्द्रा, पिस्कर, धुस्कुन, थुम्पाखर, सिक्रे–मार्मिङ लगायतका बस्तीमा खानेपानी, सरसफाइ र आयआर्जनका कार्यक्रम सञ्चालन गरेका थिए।
खानेपानी अभियानपछि उनको यात्रा ऊर्जा क्षेत्रमा पनि विस्तार भयो। दुई दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रमा सक्रिय पराजुली नेपालभरका ८० भन्दा बढी जलविद्युत् आयोजनासँग जोडिएका छन्। हाल उनी जुगल गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी खोला जलविद्युत् आयोजनाका प्रमुख प्रवर्द्धक तथा अध्यक्ष हुन्।
लामो समय एमालेको पृष्ठभूमिमा रहेका पराजुली अन्ततः रास्वपाबाट उम्मेदवार बनेर चुनाव जित्न सफल भएका छन्। गाउँमा पानी पुर्याउने अभियानबाट चिनिएका उनी अब संसदमा पुगेर ऊर्जा विकास, रोजगारी सिर्जना र स्थानीय विकासका मुद्दा उठाउने तयारीमा छन्।












