सिन्धुपाल्चोक| आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ। दशकौँदेखि नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गढ मानिएको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भरत प्रसाद पराजुलीले उम्मेदवारी दिएसँगै नयाँ तरंग पैदा भएको हो।
मनोनयन दर्तापछि उम्मेदवार पराजुलीले मतदाता भेटघाट र घरदैलो अभियानलाई तीव्रता दिएका छन्। यसैक्रममा शनिबार खाडिचौरमा आयोजित चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ७ ओटै पालिकाका सयौँ मतदाता र कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।रास्वपाका क्षेत्रीय सभापति उमेश लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै उम्मेदवार पराजुलीले राजनीतिलाई कमाउने धन्दा बनाउने परम्परालाई अन्त्य गर्न आफू मैदानमा उत्रिएको बताए। “म राजनीतिमा जनताको सेवा गर्न आएको हुँ,” पराजुलीले भने, “वर्षौँदेखि जनताको दुःखलाई व्यापार बनाउने प्रवृत्तिको अन्त्य गरी जनसेवालाई प्राथमिकतामा राख्नु मेरो मुख्य अभिभारा हो।”

स्थापित दलका नेताहरू एक-अर्काको आलोचना र गालीगलौजमा व्यस्त रहँदा पराजुली भने स्पष्ट एजेण्डा र शालीन ढंगले जनताको घरदैलोमा पुगिरहेका छन्।इन्जिनियरिङ र व्यवस्थापकीय पृष्ठभूमि भएका पराजुलीले सिन्धुपाल्चोकको मुख्य समस्याका रूपमा रहेको बाढी-पहिरो नियन्त्रण र पर्यटन विकासका लागि प्राविधिक रूपमा सम्भव योजनाहरू अघि सारेका छन्। उनको यो ‘भिजन’ प्रति विशेषगरी युवा पुस्ता र प्राविधिक क्षेत्रका मानिसहरू आकर्षित देखिएका छन्।
लामो समयदेखि कांग्रेस, एमाले र माओवादीमा सक्रिय रहेका तर नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट कार्यकर्ताहरूको ठूलो पंक्ति यसपटक ‘घण्टी’ चिह्नमा मतदान गर्न उत्साहित देखिएको स्थानीय विश्लेषण छ। काठमाडौँ र खाडिचौरमा भएका छुट्टाछुट्टै भेटघाटमा देखिएको जनसहभागिताले सिन्धुपाल्चोक-१ मा यसपटक त्रिकोणात्मक वा बहुकोणीय कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ।
सत्ता र शक्तिको लामो अनुभव बटुलेका स्थापित अनुहारहरूलाई पराजुलीको ‘नयाँ एजेण्डा’ ले कडा चुनौती दिने आकलन गरिएको छ।







