बाह्रबिसे, सिन्धुपाल्चोक । निर्वाचनको सरगर्मी बढ्दै जाँदा सिन्धुपाल्चोकमा नेकपा (एमाले) लाई ठूलो झट्का लागेको छ। बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमालेका प्रभावशाली नेता निमफुञ्जो शेर्पाले पार्टी परित्यागको घोषणा गरेसँगै जिल्लाको चुनावी गणित एकाएक फेरिएको छ।
शेर्पाले सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेख्दै एमालेको संगठित सदस्यता त्यागेको घोषणा गरेका हुन्।पहिलो स्थानीय तह निर्वाचनमा बाह्रबिसेको संस्थापक मेयर बनेर एमालेको झण्डा गाडेका शेर्पाको बर्हिगमनले एमालेलाई सिन्धुपाल्चोक-१ मा ठूलो धक्का पुगेको छ। पार्टीभित्रैका केही व्यक्तिहरूले षड्यन्त्र गरी आफूलाई कमजोर बनाएको उनको दाबी छ। निर्वाचनको संघारमा एउटा पपुलर नेताले साथ छोड्नु भनेको एमालेको ‘कोर भोट’ बैंकमा पहिरो जानु हो। शेर्पासँगै एमालेका तल्लो तहका सयौँ कार्यकर्ता र समर्थकहरू पनि पार्टीबाट अलग हुने सम्भावना देखिएकाले एमालेका लागि सिट सुरक्षित गर्न अब फलामको चिउरा चपाउनु सरह हुनेछ।

बाह्रबिसे र आसपासका क्षेत्रमा नेपाली कांग्रेस पहिलेदेखि नै बलियो प्रतिस्पर्धी हो। एमालेभित्रको यो कलह र विभाजनले कांग्रेसलाई सिधै फाइदा पुग्ने देखिन्छ। एमालेको भोट बाँडिने बित्तिकै कांग्रेसका उम्मेदवारलाई मतान्तर बढाउन सहज हुने राजनीतिक विश्लेषकहरूको ठहर छ।शेर्पाको यो निर्णयले वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठूलो मौका दिएको छ। एमालेको परम्परागत शैलीबाट वाक्क भएका युवा मतदाता र शेर्पाका व्यक्तिगत समर्थकहरू रास्वपाको घण्टीतिर आकर्षित हुने देखिन्छ। अर्कोतर्फ, नेकपा (नेपाली कम्युनिष्ट पार्टी) ले पनि एमालेभित्रका असन्तुष्ट पक्षलाई समेटेर आफ्नो शक्ति विस्तार गर्ने अवसर पाएको छ।
शेर्पाले एमालेको सदस्यता कार्ड छोड्दा आफू भावुक भएको बताएका छन्। उनले लेखेका छन्— “यो कार्ड पहिलो पटक हातमा लिँदा जुन गर्व थियो, आज छोड्दा त्यही गर्व आँसु बनेर झरिरहेको छ। मन रोइरहेको छ, तर छोड्नुको विकल्प रहेन।”
निर्वाचनको संघारमा भएको यो नाटकीय घटनाक्रमले सिन्धुपाल्चोकको चुनावी नतिजालाई कता मोड्छ, त्यो भने हेर्न बाँकी नै छ। तर, निमफुञ्जोको बहिर्गमनले एमाले रक्षात्मक र विपक्षी दलहरू उत्साही देखिएका छन्।














