सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–३ मा अवस्थित ठुलो छाँगामा चारदिने क्यानोनिङ महोत्सव सम्पन्न भएको छ। भदौ ३१ गतेदेखि सुरु भएको यस महोत्सवमा करिब ३०० जनाको सहभागिता रहेको थियो, जसमध्ये ७० जनाले पहिलोपटक क्यानोनिङको अनुभव लिए।
महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य क्यानोनिङ खेलको प्रचार-प्रसार गर्नु र यसलाई ग्रामीण पर्यटनसँग जोड्नु रहेको फेस्टिबल संयोजक प्रीतम गोले तामाङले बताए। गत वर्ष नै ठुलो छाँगामा क्यानोनिङका लागि पूर्वाधार तयार पारिएको र १२ जना स्थानीय युवालाई तालिम दिइएको उनले जानकारी दिए।

बलेफी गाउँपालिका-३ का वडा अध्यक्ष रितेश तामाङले सुकुटे आउने पर्यटकलाई क्यानोनिङ र हाइकिङको अनुभव दिन सकेमा स्थानीय अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गरे।
गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले गाउँपालिकाले साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ क्यानोनिङ र रक क्लाइम्बिङका लागि बजेट छुट्याएर काम सुरु गरेको बताइन्।
यस महोत्सवमा इन्सुहाङ राईले मुख्य प्रशिक्षकको भूमिका निभाएका थिए भने सुजन जिम्बा, संगम रुम्बा, दीपक तामाङ र अखिल तामाङले सहयोगी गाइडका रूपमा काम गरे। प्रशिक्षक राईका अनुसार ठुलो छाँगा क्यानोनिङका लागि निकै सम्भावनायुक्त स्थल हो। उनले अनुभवी गाइडको सहयोगमा क्यानोनिङ पूर्ण रूपमा सुरक्षित हुने बताए।
ठुलो छाँगा काठमाडौंबाट ८२ किलोमिटर र सुकुटेबाट १४ किलोमिटरको दूरीमा रहेको छ।






