सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–८ मानेश्वरा स्थित श्री भद्रकाली माध्यमिक विद्यालयमा अध्ययन गरेको २०५७ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा बाह्रबिसे नगरपालिकास्तरीय माध्यमिक तह (कक्षा ९ र १०) हाजिर जवाफ प्रतियोगिता आयोजना हुने भएको छ।
विद्यार्थीहरूमा ज्ञान, तर्कशक्ति, प्रतिस्पर्धात्मक भावना र आत्मविश्वासको विकास गराउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०८२ साल माघ ९ गते, सरस्वती पूजाको पावन अवसरमा विद्यालय परिसरमै सञ्चालन हुने विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रम श्री भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशदत्त पौडेलको अध्यक्षतामा सम्पन्न हुने छ। प्रतियोगितामा बाह्रबिसे नगरपालिका–८ का वडा अध्यक्ष बिमल प्रसाद पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, बाह्रबिसे नगरपालिका शिक्षा अधिकृत रोहित भट्ट विशेष अतिथिको रूपमा सहभागी भई नगरपालिकाको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुहुने कार्यक्रम रहेको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत शिक्षा प्रेमी, अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
पूर्व विद्यार्थीहरूको सक्रिय पहल र सहयोगमा आयोजना हुन लागेको यस प्रतियोगिताले सामुदायिक विद्यालयबीच आपसी सद्भाव, शैक्षिक गुणस्तर अभिवृद्धि र स्वस्थ प्रतिस्पर्धालाई थप सुदृढ बनाउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।
नगरस्तरीय प्रतियोगितामा बाह्रबिसे नगरपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थी टोलीले सहभागिता जनाउने छन्।
उक्त कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितालाई भव्य, सभ्य तथा प्रभावकारी रूपमा सम्पन्न गर्ने तयारी गरिएको आयोजक श्री भद्रकाली माध्यमिक विद्यालयले जानकारी दिएको छ।












