विषयप्रवेश
नेपालमा बैदेशिक ब्यापारको सुरुवातसँगै भन्सार प्रशासन कुनै न कुनै रुपमा आबद्ध रहदै आएको पाईन्छ ।नेपालको बाह्य ब्यापार र भन्सार प्रणालीको सुरुवात प्राचीनकालदेखि नै भएको लिच्छवीकालीन अभिलेखहरुले पुष्टी गरेका छन् । मल्लकालीन समयमा पनि छिमेकी राष्ट्र भारत र भोटसँगको उन्नत ब्यापारको अवस्थाले उक्त अवधिमा पनि भन्सार प्रशासन ब्यवस्थित रहेको अनुमान गर्न सकिन्छ । राणाकालीन समयमा पनि गढी ,गोश्वारा,मधेश बन्दोबस्त अड्डा जस्ता नामले भन्सार प्रशासन सञ्चालनमा रहेको देखिन्छ ।

सन् 1960 मा नेपाल चीन बीच सन्धि भएपछि सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना गरी केन्द्रीयस्तरमा यसको प्रशासन अर्थ मन्त्रालय अन्तर्गत अर्थ र आय विभागबाट गर्ने ब्यवस्था रहेको देखिन्छ । प्रारम्भमा भन्सार तथा अन्तःशुल्क सम्बन्धी काम गर्ने गरी भन्सार तथा अन्तःशुल्क डाईरेक्टर विभागको गठन भए पनि वि.सं. 2023 सालमा आएर यी दुई विभागलाई अलग गरी भन्सार विभाग स्थापना भएको पाईन्छ । नेपालको भन्सार प्रशासनको विकासको क्रममा आजको दिनसम्म आईपुग्दा भन्सार विभाग अन्तर्गत नेपालमा भारत तथा चीनको सीमा,त्रिभुवन विमानस्थल तथा जाँचपास परीक्षण कार्यालय समेत 40 वटा भन्सार कार्यालयहरु तथा 133 वटा छोटी भन्सार कार्यालयहरु सञ्चालनमा रहेका छन् । यिनै भन्सार कार्यालयहरु मध्येको एउटा भन्सार कार्यालयको रुपमा तातोपानी भन्सार कार्यालय रहेको छ ।
तातोपानी भन्सार कार्यालयको परिचयः
नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. 2 मा रहेको चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको लिपिङको मितेरी पुलबाट भोटेकोशी गाउँपालिका वडा नं. 3 भोटेकोशी नदीमा बनेको लार्चा पूलसम्म लगभग ७ किलोमिटर भन्सार क्षेत्रलाई यस कार्यालयको भन्सार क्षेत्र तोकिएको छ । यस नाकाबाट परम्परागत रुपमा बस्तु विनिमय प्रणालीदेखि विश्व भन्सार संगठनको मापदण्ड र प्रक्रियाअनुरुप मालसामानको निकासी पैठारी हुँदै आएको छ ।हालको करिव 300 रोपनी क्षेत्रफलमा फैलिएको भौतिक संरचना जनवादी गणतन्त्र चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भई सञ्चालनमा आएको हो । यस भन्सार कार्यालयको गोदाम व्यवस्थापनको काम मिति 2079 असोज 11 गतेबाट ट्रान्स सिल्क टर्मिनल प्रा.लि.ले गर्दै आएको छ । यस भन्सार परिसरमा पारवहन, क्वावारेन्टाइन, बैंक, सशस्त्र प्रहरी बलको Border Out Post (BOP) लगायतका कार्यालयहरु रहेका छन् ।विपद्को समयमा स्थानीय समुदायबाट सेल्टरको रुपमा प्रयोग गर्ने गरिएको यस कार्यालयले ठूला र साना गरी १८२ गाडी पार्किंग गर्ने क्षमता राख्दछ ।
भन्सार प्रशासनमा भएका सुधारका प्रयासहरुः
नेपाल सरकारले भन्सार प्रशासनमा थुप्रै सुधारका प्रयासहरु गर्दै आएको छ र यसबाट साविकको तुलनामा अहिले सम्ममा भन्सार प्रशासनमा आमुल परिवर्तन भएको छ । समय चक्र र प्रविधिको वहावसँगै कागजी प्रकृया तथा हस्त लिखित कागजातको अभ्यासबाट स्वचालित प्रणालीसम्मको यात्रामा हिँडिरहेको भन्सार प्रशासनले भन्सार जाँचपासमा हुने प्रायः सबै कामहरु स्वचालित प्रणालीमार्फत गर्ने गरेको छ । यो ब्यवस्था सँगै नेपालको भन्सार प्रशासनले प्रज्ञापन पत्रमार्फत स्वयं घोषणा गर्ने प्रणाली सुरुवात गर्यो । यसविन्दुबाट पैठारीकर्ता वा निकासीकर्ता वा भन्सार एजेन्टले मालबस्तु स्वयं घोषणा ASYCUDA प्रणाली मार्फत गर्ने ब्यवस्था भएको छ । विश्वका धेरै आधुनिक मुलुकहरुले प्रयोग गर्ने गरेको ASYCUDA प्रणाली नेपालमा लागु भएसँगै हाल यस कार्यालयमा पनि ASYCUDA प्रणाली कार्यान्वयनमा रहेको छ।भन्सार विभागले आशिकुडा प्रणाली भित्रै विभिन्न मोड्युलहरु कार्यान्वयन गरेको छ जसबाट भन्सार जाँचपासका धैरै विषयहरु हाल स्वचालित रहेका छन् । भन्सार कार्यालयहरुमा गेट ईन्ट्री मोड्युल,ल्याब मोडल, Online Entry Model, बैंक ग्यारेन्टी मोड्युल, स्वचालित मुल्याङ्कन प्रणाली, NNSW लगायतका आधुनिक Module हरु प्रयोग भईरहेका छन् ।
भन्सार प्रशासनले आफुले गर्ने क्रियाकलापहरुमा अनुगमन तथा नियन्त्रण गर्ने गरी आन्तरिक लेखा परिक्षण, WAN Monitoring तथा भन्सार जाँचपास परीक्षण कार्यालयमार्फत जाँचपास भए पश्चात समेत जाँचपास गर्न सकिने संयन्त्र रहेको छ । यसरी भन्सारले विभिन्न निकायमार्फत नियन्त्रण तथा नियमन समेत गर्ने गरेको अवस्थामा भन्सार कार्यालयहरुले जाँचपासको क्रममा भए गरेका त्रुटीहरु सुधार गरी छुटेको राजश्व असुली समेत हुने गरेको छ ।
अन्य निकायसँगको अन्तरसम्बन्धः
भन्सार प्रशासनले तोकिएको लक्ष्य हासिल गर्नको निमित्त विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ । यस कार्यालयले सशस्त्र प्रहरी बल, बिओपी, नेपाल प्रहरी र अन्य सरोकारवाला निकायहरुसँग समन्वय, सहकार्य एंव अन्तरक्रिया गर्दै आएको छ ।यसबाहेक, केही सरोकारवालाहरुसँग NNSW का माध्यमबाट सम्पर्क समेत कायम गरी सूचना आदान प्रदान गर्ने गरिएको छ । यि कार्यहरुले राजश्व चुहावट नियन्त्रणमा ठूलो योगदान पुग्न गएको छ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसका सन्दर्भमाः
विश्व भन्सार संगठन World Customs Organization द्वारा भन्सार समुदाय र अधिकारीको भूमिकालाई सम्मान गर्ने उद्देश्यले हरेक बर्ष जनवरी 26 का दिन यो दिवस मनाईन्छ ।अन्तर्राष्ट्रिय भन्सार दिवस- 26 Jan का दिन 187 WCO सदस्य देशहरुले विश्वभर मनाउने गरिएको छ । World Customs Cooperation Council (CCC)को पहिलो सम्मेलन 26 Jan 1953 मा ब्रसेल्स, बेल्जियममा सम्पन्न भएको दिनलाई सम्झेर यसपश्चात यस दिवसको चयन गरिएको हो ।सन् 1994 मा CCC को नाम परिवर्तन भई WCO (world customs Organization) बनाएको भएपनि अन्तर्राष्ट्रिय भन्सार दिवस तत् पश्चात पनि निरन्तर मनाइदै आएको छ ।
यस दिवसको प्रमुख उद्देश्यः
भन्सार प्रशासनले निर्वाह गरेको भूमिकालाई महत्व दिएर भन्सार प्रशासनसँग आवद्ध कर्मचारीहरुको सम्मान गर्नु हो ।
भन्सार निकाय र अधिकारीहरुले सीमा, सुरक्षा, बैध व्यापारलाई सहज पार्ने, अबैड्ढ व्यापार नियन्त्रण र बौद्धिक आर्पूर्ती श्रृङखलामा सञ्चालनमा योगदान गर्ने भन्सार प्रशासनको महत्वलाई पहिचान गराउनु हो । यस बर्षको 74 औं भन्सार दिवस “Customs protecting society through vigilance and commitment” अर्थात सतर्कता र प्रतिवद्धता मार्फत समाजको संरक्षणमा भन्सार भन्ने नाराका साथ मनाउने कार्यक्रम रहेको छ । यस नाराले भन्सार प्रशासनको भूमिकालाई केवल राजश्व संकलनमा मात्र सीमित नराखी समग्र समाज संरक्षणको आधारभूत अंगको रुपमा प्रस्तुत गर्दछ ।
अन्तर्राष्ट्रिय भन्सार दिवसको नाराको उपदेयतालाई यस प्रकार उल्लेख गर्न सकिन्छः
समाज सुरक्षा सुदृढीकरणः
अबैध लागू औषध, हतियार, नक्कली वस्तु, मानव बेचविखन जस्ता समाज विरोधी क्रियाकलाप नियन्त्रणमा भन्सारको सतर्क भूमिकाको उजागर गर्दछ ।
सीमा नाकामा उच्च सतर्कताले सार्वजनिक स्वास्थ्य, सुरक्षा र नैतिक मूल्य संरक्षणमा योगदान पुर्याउँछ ।
कानूनी व्यापार प्रबर्द्धनः
बैध व्यापारलाई सहज, पारदर्शिता र विश्वसनीय बनाउँछ ।
निजी क्षेत्रको विश्वास आर्जन गर्दै आर्थिक स्थायित्वलाई सहयोग पुर्याउँछ ।
राजश्व संरक्षणः
सतर्कता र इमान्दार कार्यसम्पादन मार्फत राजश्व चुवाहट नियन्त्रण गर्छ ।
सरकारको विकास खर्च सामाजिक सुरक्षा र पूर्वाधार निर्माणमा प्रत्यक्ष योगदान पुर्याउँछ ।
व्यवसायिकता र सुशासन प्रबर्द्धनः
Commitment शब्दले भन्सार कर्मचारीको नैतिकता, जिम्मेवारीबोध र व्यवसायिक ईमान्दारीतालाई बल दिन्छ ।यसले सुशासन, पारदर्शिता र जवादेहिता सुदृढ गर्छ ।
अन्तर्राष्ट्रिय सहकार्यको सन्देशः
अन्तर्राष्ट्रय अपराध नियन्त्रण तथा व्यापार सहजीकरणका लागि देश देश बिच सहकार्य आवश्यक रहेको सन्देश प्रवाह गर्छ ।
भन्सार प्रशासनको मूल कार्य अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्नु नै हो ।राजश्व संकलन गरी समग्र सरकारी खर्चको जोहो गर्नु पर्ने कुरा पनि त्यतिकै महत्वपूर्ण रहेकोले व्यापार सहजीकरण र राजश्व संकलन बीच सन्तुलन कायम गर्नु नै आजको भन्सार प्रशासनको प्रमुख दायित्व हो ।यही तथ्यलाई मनन गर्दै तातोपानी भन्सार कार्यालयले जाँचपास प्रक्रियामा उपलब्ध सम्पूर्ण आधुनिक प्रविधिको प्रयोग गर्दै व्यापार सहजीकरण, राजश्व संकलन तथा समाजको सुरक्षामा सदैव क्रियाशील रहेको छ ।
लेखक रमेश गुरागाई तातोपानी भन्सार कार्यालयमा कार्यरत कर्मचारी हुन्।












