सिन्धुपाल्चोक । तामाङ समुदायको नयाँ वर्ष तथा नेपालीहरूको महान पर्व सोनाम ल्होछारको अवसरमा बलेफी गाउँपालिका–८, लामोसाँघु युवा क्लबले बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रमअन्तर्गत ल्होछार विशेष अन्तरविद्यालय नृत्य प्रतियोगिता सञ्चालन गरिने आयोजक क्लबका अध्यक्ष चरिबहादुर तामाङले जानकारी दिनुभयो। प्रतियोगितामा तामाङ संस्कार, संस्कृति र ल्होछारसँग सम्बन्धित नृत्य प्रस्तुत गर्नुपर्नेछ। विजयी टिमलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

सांस्कृतिक कार्यक्रममा लोकप्रिय गायिका पूजा लामा, प्रीतम गोले तामाङ, मोडल रेनुका थिङ तामाङलगायत स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रम माघ ५ गते, सोनाम ल्होछारकै दिन, लामोसाँघु बजारमा सम्पन्न हुनेछ।
आयोजकले सम्पूर्ण ल्होछारप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य बनाउन आग्रह गरेका छन्। यस वर्ष मञ्जुश्री संवत् २८६२, ता ल्हो (घोडा वर्ष) को अवसरमा देश–विदेशमा सोनाम ल्होछार विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रममार्फत हर्षोल्लासका साथ मनाइँदैछ।













