न्यूयोर्कको लागार्डिया विमानस्थलमा ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको जहाजका दुवै पाइलटको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन् । जहाजमा चालक दलका चार सदस्य र ७२ जना यात्रु सवार थिए ।
बन्दरगाह प्राधिकरण कार्यकारी निर्देशक क्याथरिन गार्सियाले पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएकी हुन् ।

उनले भनिन्, ‘एयर क्यानडाको विमानमा ७२ यात्रु र चार चालक दलका सदस्य थिए । ४१ जना यात्रु र चालक दललाई अस्पताल लगिएको छ । अहिलेसम्म ३२ जनालाई डिस्चार्ज गरिएको छ, तर केहीलाई गम्भीर चोटपटक लागेको छ ।’
सीबीएस न्यूजले गरेको रिपोर्ट अनुसार क्यानडाको मोन्ट्रियलबाट आएको विमान लागार्डिया विमानस्थलमा अवतरण गरेको थियो।
अवतरणपछि सीआरजे९०० मोडेलको सानो विमान धावनमार्गमा रोकिने क्रममा विमानस्थल सञ्चालन गर्ने न्यूयोर्क र न्यू जर्सीको पोर्ट अथोरिटीको ट्रकसँग ठोक्किन पुगेको हो।













