नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थितिबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताएका छन् ।
२०२७ सालमा पञ्चायती कालरात्रिविरुद्ध विद्यार्थीलाई संगठित गरी प्रजातान्त्रिक आन्दोलनलाई सुदृढ बनाउन र प्रजातन्त्रको पुनर्स्थपना गर्न नेविसंघको स्थापना भएको स्मरण गर्दै उनले कतिपय सन्दर्भमा पार्टीभन्दा पनि बढी यसले कुर्बानी र बलिदान गरेको उल्लेख गरे । महामन्त्री घिमिरेले पछिल्लो समय नेविसंघका गतिविधिहरूलाई पार्टीले सूक्ष्म रूपमा नियालिरहेको बताए ।

‘कुनै पनि दलको भातृ संस्था रहने वा नरहने भन्ने कुरा पार्टीकै अधिकार क्षेत्रभित्रको कुरा हो । तर संस्थाको हकमा पार्टीले दिएको आबद्धता, पार्टीको सन्तानजस्तै हो । नेपालको इतिहासबाटै नेपाल विद्यार्थी संघलाई अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुन जान्छ । यसको ऐतिहासिक योगदानलाई कसैले पनि विस्मृतिमा धकेल्न सक्दैन,’ महामन्त्री घिमिरेले भने, ‘नेपालको राजनीतिलाई परिवर्तन गर्न र प्रजातन्त्रको पुनर्स्थापना गर्न नेपाल विद्यार्थी संघको सबैभन्दा बढी योगदान छ । यस्तो संस्थाका बारेमा हामीले गम्भीर भएर सोच्नुपर्छ । समय क्रममा विलम्ब नगरिकन नेविसंघलगायत अन्य भातृ संस्थाहरूका विषयमा पार्टीले संस्थागत निर्णय गर्छ, र अझ प्रभावकारी भूमिकाका साथ अगाडि बढाउन मार्गनिर्देश गर्छ ।’
मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थिति र निर्वाचनबाट नयाँ दलहरूको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुन आवश्यक रहेको घिमिरेले बताए ।
नेपाल तरुण दल, नेपाल महिला संघलगायतका अन्य भातृ संस्थाहरूका विषयमा पनि पार्टीले संस्थागत निर्णय गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।








