मेलम्ची । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगर क्षेत्रभित्र कुनै पनि विद्यार्थी आर्थिक समस्याका कारण शिक्षाबाट वञ्चित हुन नपर्ने बताएका छन्। नगरपालिकाले शिक्षामा उल्लेख्य लगानी गरिरहेको उल्लेख गर्दै उनले “शिक्षा सबैको अधिकार हो, आर्थिक अभावले कसैलाई रोकिँदैन” भन्ने प्रतिवद्धता व्यक्त गरे।
इन्द्रेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ का नयाँ विद्यार्थीका लागि आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख तामाङले शिक्षालाई हल्का रूपमा नलिन विद्यार्थीहरुलाई आग्रह गरे। “भविष्यको रेखा कोर्ने समय यही हो, मेहनत र अनुशासनले मात्रै सफलतामा पुर्याउँछ,” उनले भने। नगरप्रमुखले शिक्षा, खेलकुद, संगीतलगायत क्षेत्रमा नगरपालिका निरन्तर सहयोग गर्न तत्पर रहेको पनि उल्लेख गरे।

कार्यक्रमकी विशेष अतिथि तथा मेलम्ची नगर उपप्रमुख उमा प्रधानले विद्यार्थीको गहना अनुशासन भएको बताउँदै अनुशासित भएर अघि बढ्न सुझाव दिइन्। उनले यसै विद्यालयका विद्यार्थी अहिले उच्च पदमा पुगेको उदाहरण दिँदै कक्षा ११ का विद्यार्थीलाई आफ्नो भविष्यका लागि निरन्तर मेहनत गर्न प्रेरित गरिन्।
वडा नम्बर ११ का पूर्व वडाध्यक्ष रुद्रप्रसाद दुलालले नव–भर्ना विद्यार्थीलाई शुभकामना दिँदै उज्ज्वल भविष्यको कामना गरे।
यस्तै विद्यालयका पूर्व प्रधानाध्यापक तथा इन्द्रावती बहुमुखी क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले विद्यालयमा विज्ञान तथा प्राविधिक धारतर्फ राम्रो शैक्षिक उपलब्धि हासिल भइरहेकाले आगामी दिनमा कानुन विषय थप गर्ने आवश्यकता रहेको बताए।
छेसाङ तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुति समेत राखेका थिए।













