काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। फ्लड लाइट र प्यारापिटसहित स्तरोन्नति गरिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल हुन लागेकोले यस संस्करणले क्रिकेटप्रेमीमा थप उत्साह ल्याएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको औपचारिक शुभारम्भ आज अपरान्ह २ बजे हुने छ भने पहिलो खेल साँझ ४ बजे खेलाइनेछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज बीच प्रतिस्पर्धा हुनेछ।

सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानलाई पहिलो एनपीएलको पूर्व सन्ध्यामा आइतबार साँझ मात्रै चरणका संरचना हस्तान्तरण गरेको थियो।यसपटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ, जसका कारण दर्शकले सिटमै बसेर प्रतियोगिता हेर्न पाउने भएका छन्।फ्लड लाइटको व्यवस्थासहित स्तरोन्नति गरिएकाले अब खेलहरू अन्य देशका रङ्गशालासरह रातिसमेत सञ्चालन हुनेछन्, जसले गर्दा दर्शकले साँझको समयमा पनि खेल हेर्न सक्नेछन्।
यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन्। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन्।













