काठमाडौं- नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) ले श्रमिक आन्दोलन र हालै उठेका जेनजी (Gen Z) पुस्ताका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग जोडदार आग्रह गरेको छ।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै युनियनले १३ बुँदे माग सार्वजनिक गरेको छ। महासचिव अजयकुमार राईले डिजिटलाइजेसन, सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी प्रवर्द्धनजस्ता मुद्दाहरूमा सरकारले पहिले ध्यान नदिएको भए पनि युवा प्रदर्शनपछि राजनीतिक परिदृश्य बदलिएको बताएका छन्। उनले अब ती मुद्दाहरूलाई तत्काल सम्बोधन गर्न अनुरोध गरे।

एनटीयूसीले निकट भविष्यमा हुने राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनमा नव युवा समूह र श्रमिकहरूको अनिवार्य प्रतिनिधित्व सुनिश्चित हुने गरी कानुनी व्यवस्था गर्न माग गरेको छ। महासचिव राईले स्वदेश तथा विदेशमा कार्यरत श्रमिकहरूले कार्यस्थलबाट नै मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराए।
नेपाली कांग्रेस निकट यस महासङ्घले आफ्नो मातृ पार्टीलाई पनि समयमै महाधिवेशन गर्न आह्वान गरेको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेसको निर्णय विहिनताले मुलुक पनि दिशाविहीन भएको महासङ्घको ठहर छ।” साथै, संगठनले दुई पटकभन्दा बढी संसदीय अवसर पाइसकेका शीर्ष नेताहरूलाई दोहोरो जिम्मेवारी नदिई आगामी निर्वाचनमा युवा, महिला र श्रमिक वर्गसमेतलाई समावेशी रूपमा उम्मेदवार बनाउने नीति लिन अनुरोध गरेको छ।








