चौतारा। धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो गौराती भीमेश्वर मेला आजदेखि सुरु भएको छ। प्रत्येक कात्तिक पूर्णिमाको दिनदेखि सुरु भई तीन दिनसम्म चल्ने यो मेला भर्न देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजन आउने गर्छन्।
मेलाको मुख्य आकर्षणका रूपमा चौताराको पुरानो बजारस्थित गुठी घरबाट भीमसेनको मूर्तिलाई रथमा राखेर पूर्णिमाको रात गौराती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराउने परम्परा रहेको छ। यो मिलनपछि एकादशीको दिन मूर्तिलाई पुनः फर्काइन्छ र द्वादशीका दिन सिन्दुरे जात्रासहित मेला सम्पन्न गरिने चलन छ। मेला अवधिभर सरकारी पूजा हुने तथा हजारौँ पशुपक्षीको बलि दिने गरिन्छ।

समुद्री सतहबाट १,८२८ मिटरको उचाइमा रहेको गौराती डाँडाबाट मनोरम दृश्य अवलोकनका साथै जुगल हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिन्छ। मन्दिरलाई विसं २०५३ मा पुनःनिर्माण गरी तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यबाट स्तम्भस्मृतिको अनावरण भएको थियो।
यस अवसरमा बृहत् सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको छ। चौतारा सागाचोकगढी नगरपालिकाको समन्वय र वडा नं ६ को सहयोगमा गौराति भीमसेन युथ क्लबले आयोजना गरेको यस कार्यक्रममा नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनाम आउँदैछिन्। गंगासँगै रामकुमार नेपाली, विश्व दोङ, सपना गुरुङ, रञ्जित वाइबा, सुमिना लोलगायतका ख्यातिप्राप्त र स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।




