काठमाडौँ- वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज हरिबोधिनी एकादशीका अवसरमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गरी विशेष पूजा गर्दैछन्।
आसार शुक्ल एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु आज जाग्ने विश्वास रहेकोले यो दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी भनिन्छ। यसअघि चार महिनासम्म माङ्गलिक कार्य नगरी तुलसीको व्रत गरी पूजा गर्ने परम्परा रहिआएको छ।

आज घर–घरका तुलसी मठहरू गाईको गोबर र रातो माटोले पोतेर फूलमाला लगाई सजाइन्छ। तुलसी र दामोदरको विवाह गरेर भक्तजनले व्रत र फलाहार गर्छन्।धर्मशास्त्रअनुसार तुलसीको पूजा र तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा हजार अश्वमेध यज्ञ बराबरको फल प्राप्त हुने विश्वास छ। तुलसी औषधीय दृष्टिले पनि लाभदायक मानिन्छ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायणस्थान — चाँगुनारायण, विशङ्खुनारायण, शेषनारायण र इचङ्गुनारायणमा साथै बूढानीलकण्ठ र नारायणहिटीस्थित चातुव्र्युह नारायणस्थानमा विशेष मेला र पूजा आयोजना गरिएको छ।




