काठमाडौं — छठ पर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिको तयारीमा व्यस्त छन्। शनिबार ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुहरूले आज पञ्चमी तिथिमा दिनभरि निराहार उपवास बसेर साँझ ‘खरना’ सम्पन्न गर्ने तयारी गरेका हुन्।
परम्पराअनुसार बर्तालुले सूर्योदयअघि पवित्र स्नान गरी दिनभर उपवास बसेर साँझ सक्खर, दूध र चामलको खिर पकाई छठी देवी र कूलदेवतामा अर्पण गर्छन्। त्यसपछि सो खिरलाई प्रसादका रूपमा ग्रहण गरिन्छ।

मधेसका विभिन्न जिल्लासहित मिथिला क्षेत्रमा ‘खरना’ विधिलाई आत्मशुद्धि र श्रद्धासँग जोडिएको मानिन्छ। मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्णका अनुसार खरना स्वधर्म, आत्मसंरक्षण र पाप नाशको प्रतीक हो।




