काठमाडौं: गम्भीर घाइते भएकी गायिका नितु पौडेलको उपचारको क्रममा निधन भएको छ। एक साता लामो उपचारपछि शुक्रबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा पौडेललाई चिकित्सकले मृत घोषित गरेका हुन्। उनको पार्थिव शरीरको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
गायिका पौडेलले गत १ कात्तिकमा गायक बाबुल गिरीको स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।

नितु पौडेलको मृत्युपछि उनका दाइ गणेश पौडेलले प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्। गणेश पौडेलले आफ्नी बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन्।
जाहेरीमा उल्लेख भएअनुसार, नितु पौडेल र गायक बाबुल गिरी विगत ८–९ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए। गणेश पौडेलले ‘दुई जनामात्रै भएको कोठाभित्र आफ्नो बहिनीलाई जलाइएको’ दाबी गरेका छन्।
आत्मदाहको प्रयास गर्नुको कारणबारे प्रहरीले हालसम्म केही खुलाएको छैन। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बाबुल गिरीले भने पौडेलले शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको प्रहरी समक्ष बताएका छन्।




