काठमाडौं — नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। बिहीबार बिहानदेखि लागु हुने गरी प्रतिलिटर दुई रुपैयाँले पेट्रोलको मूल्य घटाइएको निगमले जनाएको छ। यद्यपि, डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखिएको छ।
मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ ।

निगमले इन्धन बिक्री मूल्यलाई तीन वर्गमा विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पर्दछन्। सुर्खेत र दाङलाई दोस्रो वर्गमा तथा काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखिएको छ।




