काठमाडौँ – हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडा दशैँ आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाबाट सुरु भई १५ दिनसम्म चल्ने यो पर्व आज घर-घरमा घटस्थापना गरेर प्रारम्भ गरिएको हो।
आज बिहानै नदी वा चोखो ठाउँबाट ल्याइएको माटो र बालुवामाथि जौ रोपेर जमरा राखिएको छ। जमरालाई दुर्गा देवीको प्रिय वस्तु मानिन्छ। यसरी रोपिएको जमरालाई विजयादशमीको दिन टीकासँगै प्रसादका रूपमा लगाउने प्रचलन छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। यद्यपि, कतिपयले कुल परम्परा अनुसार जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्।

आज बिहान ९:१३ बजेको शुभ साइतमा घटस्थापना गरिएको हो। यस दिन घट अर्थात् घडा स्थापना गरी त्यसमाथि शक्तिस्वरूपा देवी दुर्गाको पूजा गरिन्छ।
नवरात्रभर दुर्गाका तीन रूप—शक्ति, धन र विद्याकी प्रतीक महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। दुर्गा पक्षका १५ दिनमा आसुरी शक्तिमाथि विजय प्राप्त गर्न दुर्गाले लिएका नौ रूपको विशेष पूजा-आराधना गर्ने परम्परा छ।




