सिन्धुपाल्चोक: हरितालिका तिजको अवसर पारेर बलेफी गाउँपालिका–५ मा मौलिक संस्कृति झल्कने तिज विशेष कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। वडा कार्यालयको आयोजनामा भएको यस कार्यक्रमले नेपाली महिलाहरूको महान् पर्वलाई सम्मान गर्दै आपसी सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
वडा अध्यक्ष यादव ठकुरीका अनुसार, कार्यक्रमलाई मौलिक संस्कार र परम्परालाई जीवन्त राख्ने गरी भव्य र सभ्य रूपमा सम्पन्न गरिएको थियो। उहाँले कार्यक्रममा सहभागी हुने, व्यवस्थापनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै समाजको परम्परागत संस्कार, संस्कृति र रीतिरिवाजको संरक्षणमा वडा सधैँ तत्पर रहेको बताउनुभयो। साथै, उहाँले आफ्नो यस अभियानमा सम्पूर्ण वडावासीको साथ र सहयोगका लागि आग्रह गर्नुभयो।

कार्यक्रमको सफल व्यवस्थापनका लागि वडाका कर्मचारी, नवप्रतिभा युवा क्लब, सज्जन महिला समूह र कपिलेश्वर व्यवस्थापन समितिको महत्त्वपूर्ण भूमिका रहेको थियो। यसैगरी, कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन बलेफी प्रहरी चौकी र लामोसाँघु सशस्त्र प्रहरीको टोलीले पनि सहयोग पुर्याएका थिए।
यस्ता सांस्कृतिक कार्यक्रमहरूले स्थानीय समुदायमा आपसी सद्भाव र एकता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रममा महिला दिदीबहिनीहरूले पारंपरिक गीतमा नृत्य गर्दै रमाइलो गरेका थिए भने एक-आपसमा शुभकामना आदानप्रदान गरेर पर्वको रौनक बढाएका थिए।














