काठमाडौँ- आज देशभर साउने (कर्कट) सङ्क्रान्ति, अर्थात् ‘लुतो फाल्ने दिन’ परम्परागत रूपमा मनाइँदैछ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने यस दिनबाट दक्षिणायन आरम्भ हुने भएकाले धार्मिक तथा ज्योतिषीय हिसाबले पनि विशेष मानिन्छ।
परम्पराअनुसार आजको दिन काग भलायो, लुतेझार, पानी अमला, कागती, अम्बा लगायत औषधीय वनस्पति प्रयोग गरी ‘कण्डारक’ नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने चलन छ। यसरी लुतो फाल्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टा बजाउने, ढोका बन्द गर्ने जस्ता सांस्कृतिक अभ्यासहरू गरिन्छ।

कृषक समुदायले एक महिनाको खेतीपातीपछि आजको दिन आफन्तसँग भेला भई रमाइलो गर्ने चलन रहेको छ। साथै, भगवान् शिवको प्रिय साउन महिना सुरु हुने आजको दिन महिलाहरू हरियो चुरा र पहिरनमा सजिएर पूजा आराधनामा सहभागी हुन्छन्।
संक्रान्तिसँगै बजारमा हरियो चुरा, टिकुली र रातो–हरियो कपडाको बिक्री बढेको देखिन्छ। सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्त्व बोकेको साउने सङ्क्रान्ति नेपाली समाजमा उल्लास र आस्थासाथ मनाइँदै आएको छ।








