काठमाडौं : नेपालमा आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्यभाग आसपासमा रहेको छ। उक्त मौसमी प्रणाली थप शक्तिशाली बन्दै गहिरो न्यून चापीय क्षेत्रका रूपमा पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

यस प्रणालीको प्रभावले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले जनाएको छ।सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहने महाशाखाले जनाएको छ। त्यस्तै, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ।
वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा नदी आसपासका निर्माण कार्य प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ। सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
धानबाली भित्र्याउने समयसमेत रहेकाले मौसमसम्बन्धी जानकारी लिएर सम्बन्धित कृषि विज्ञको सल्लाहअनुसार काम गर्न महाशाखाले अनुरोध गरेको छ।








