बनेपा, असार १८ । अग्रज पत्रकार तथा सामाजिक अभियान्ता नवराज बजगाईले यस वर्ष पनि आफ्नो जन्मदिन सामाजिक सेवामा समर्पित गरेका छन्। विगतका वर्षहरूझैँ उनले काभ्रेपलाञ्चोकको धुलिखेल–१२ स्थित मानव कल्याण समाजद्वारा सञ्चालित **‘सेवा घर’**मा आश्रित ६० भन्दा बढी ज्येष्ठ नागरिक तथा असहायसँग जन्मदिन मनाउँदै भोजन गराउनुका साथै खाद्यान्न, सरसफाइ सामग्री, फलफूल र लत्ताकपडा सहयोग गरेका हुन्।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, काभ्रेका पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, अनलाइन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक र राम्रो सन्देश डटकमका प्रधान सम्पादक बजगाईले आफ्नो जन्मदिन (असार १८) र धर्मपत्नी तारा भट्टराईको जन्मदिन (असार २२) को अवसर पारेर सेवा घरमा सहयोग गरेका हुन्।
यस अवसरमा उनले सेवा घरका अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, मसला, चिनी, चियापत्ती, बेसार, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, ब्रस, फिनेल, सरफ, फलफूल, बिस्कुटलगायतका खाद्यान्न तथा सरसफाइ सामग्री र लत्ताकपडा हस्तान्तरण गरेका थिए।
सामग्री हस्तान्तरणपछि पत्रकार बजगाईले सेवा घर स्थापना भएदेखि नै हरेक वर्ष आफ्नो जन्मदिन यहीं मनाउँदै आएको बताउँदै जन्मदिनलाई समाजसेवासँग जोड्ने संस्कार विकास गर्नु आजको आवश्यकता भएको बताए।
उनले भने, “देखाउनका लागि होइन, समाजमा सेवा र मानवीय भावना विस्तार होस् भन्ने उद्देश्यले यो अभियान सुरु गरेको हुँ। अहिले धेरैले जन्मदिन आश्रम, सेवा केन्द्र वा अन्य सामाजिक कार्य गरेर मनाउन थालेको देख्दा निकै खुसी लागेको छ।”
कार्यक्रममा धुलिखेल–१२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले यस्ता सहयोगी व्यक्तिहरूको साथकै कारण सेवा केन्द्र प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउँदै नगरपालिका र वडाले पनि जग्गा तथा भवन उपलब्ध गराएर संस्थालाई सहयोग गर्दै आएको जानकारी दिए।
सामाजिक अभियान्ता राजन अधिकारीले मानव सेवाभन्दा ठूलो धर्म अर्को नभएको उल्लेख गर्दै यस्ता सेवामूलक अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा समाजसेवी बोधनाथ बजगाई, रुपेश काफ्ले तथा सञ्चारकर्मी अरविन्द्र गौतम र राज तिमल्सिनालगायतले बजगाईलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको सामाजिक अभियानको प्रशंसा गरेका थिए।
मानव कल्याण समाजले हाल देशभर सात वटा सेवा केन्द्रमार्फत असहाय तथा बेवारिसे नागरिकको सेवा गर्दै आएको छ। संस्थाका अनुसार सबै सेवा केन्द्रमा करिब ३०० जना आश्रित रहेका छन् भने धुलिखेलस्थित सेवा घरमा मात्रै ६० जना आश्रित छन्।
मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार नौ वर्षअघि स्थापना भएको धुलिखेल शाखाले सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका असहायहरूको उद्धार, संरक्षण र व्यवस्थापन गर्दै आएको छ।
पत्रकार नवराज बजगाईले विगत धेरै वर्षदेखि आफ्नो जन्मदिन सेवा घर तथा काभ्रेका विभिन्न आश्रमहरूमा सहयोग गर्दै मनाउने परम्परालाई निरन्तरता दिँदै आएका छन्। उनको यो अभियानले जन्मदिनलाई व्यक्तिगत उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।









