सिन्धुपाल्चोक, बलेफी । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय ज्यामिरे, सिन्धुपाल्चोकले आफ्ना सदस्यहरूको आर्थिक तथा कृषि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बलेफी गाउँपालिका–७, साउनेमा बिउबिजन वितरण तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा संस्थामा आबद्ध करिब ३० देखि ३५ जना सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक सुस्मिता श्रेष्ठ ले गर्नुभएको थियो भने सभाको अध्यक्षता केन्द्र प्रमुख लक्ष्मी सुवेदी ले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा संस्थाका अनुगमन प्रमुख प्रदीप नेपाली तथा स्वागत मन्तव्य फिल्ड व्यवस्थापक उत्तम पराजुली ले राख्नुभएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य सदस्यहरूलाई गुणस्तरीय बिउबिजन उपलब्ध गराउनुका साथै वित्तीय साक्षरतासम्बन्धी ज्ञान प्रदान गर्नु रहेको थियो। सो अवसरमा सहभागीहरूलाई बचतको महत्व, बचत गर्ने तरिका, बचतका प्रकार, ऋणको आवश्यकता, ऋण लिने तथा तिर्ने प्रक्रिया, ऋण समयमै नतिर्दा हुन सक्ने असर तथा संस्थाबाट प्रदान गरिने विभिन्न सेवा–सुविधाबारे विस्तृत जानकारी दिइएको थियो।
वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण संस्थाका अनुगमन प्रमुख प्रदीप नेपाली ले आफ्नै जीवनका वास्तविक अनुभव र उदाहरण प्रस्तुत गर्दै दिनुभएको थियो। उहाँले सही आर्थिक योजना, नियमित बचत र जिम्मेवार ऋण व्यवस्थापनले व्यक्तिको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रमकै अवसरमा सहभागी सदस्यहरूलाई कृषि उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले बोडी सिमी, घिरौँला, भिन्डी, साग लगायतका विभिन्न बिउबिजन वितरण गरिएको थियो। बिउबिजन वितरण कार्य पनि अनुगमन प्रमुख प्रदीप नेपालीबाट सम्पन्न गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहभागी सदस्यहरूले यस्ता कार्यक्रमले आफूहरूलाई आर्थिक तथा कृषि सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको भन्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। साथै आगामी दिनहरूमा पनि यस्ता उपयोगी कार्यक्रम निरन्तर सञ्चालन गर्न आग्रह गरेका थिए। शाखा प्रमुखले भविष्यमा समेत सदस्यहरूको हितका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अन्त्यमा सभाध्यक्ष लक्ष्मी सुवेदी ले सहभागी सम्पूर्ण सदस्य, अतिथि तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको थियो।








