ईटहरी – शान्तिनगर इंग्लिस स्कुल (ईटहरी–२) र ब्लुम नेपाल स्कुल (ईटहरी–१७) को संयुक्त आयोजनामा एकदिने शिक्षक कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। “एकीकृत पाठ्यक्रम र कक्षाकोठामा यसको प्रयोग” विषयक कार्यशालामा दुवै विद्यालयका करिब ४० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै शान्तिनगर इंग्लिस स्कुलका प्रधानाध्यापक उत्तम पौडेलले ‘सिकाउनुअघि सिक्न’ आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले कक्षा शिक्षणलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विश्वास व्यक्त गर्नुभयो। त्यस्तै, ब्लुम नेपाल स्कुलका प्रधानाध्यापक दिनेश बुढाथोकीले शिक्षकहरूले आफ्नो पाठ्यक्रमबारे गहिरो र स्पष्ट ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यशालाको सहजिकरण प्रशिक्षक निर्मला पौडेलले गर्नुभएको थियो। उहाँले नेपाल सरकारको निर्देशअनुसार यस्ता कार्यक्रमहरू सञ्चालन हुनु सकारात्मक कदम भएको बताउँदै शिक्षकको व्यावसायिक विकासमा यसले महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
कार्यशालाले सहभागी शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको व्यवहारिक प्रयोग, शिक्षण विधि सुधार तथा कक्षाकोठामा सिर्जनात्मक अभ्यास लागू गर्न थप उत्प्रेरणा दिएको आयोजकले जनाएका छन्।













