“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नारालाई आत्मसात् गर्दै बलेफी गाउँपालिका वडा नं. ४ मा दुई दिने कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। मिति २०८३ बैशाख ६ र ७ गते आयोजित कार्यक्रममा बालमैत्री स्थानीय शासन (CFLG) कार्यान्वयनसँग सम्बन्धित विभिन्न पक्षमा केन्द्रित गतिविधि सञ्चालन गरिएको थियो।
कार्यक्रम अन्तर्गत CFLG का आधार कागजातहरूको फाइल सूची अनुगमन, सूचकहरूको प्रारम्भिक अवस्था मापन तथा आगामी पाँच वर्षका लागि आवधिक लगानी योजना निर्माणमा विशेष जोड दिइएको थियो। सहभागीहरूले स्थानीय तहमा बालमैत्री वातावरण निर्माणका लागि आवश्यक रणनीति र योजनाबारे छलफल गरेका थिए।

गाउँपालिका स्तरमा बालबालिकाको अधिकार सुनिश्चित गर्दै दीर्घकालीन विकासको आधार तयार पार्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय नीति तथा योजनामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। उक्त कार्यक्रमबारे जानकारी दिँदै वडा अध्यक्ष सुर्जे तामाङले यसले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीय बासिन्दाप्रति उहाँले आभार प्रकट गर्नुभयो।














