सिन्धुपाल्चोक – तातोपानी नाकामा केही दिनदेखि देखिएको समस्या समाधानतर्फ सकारात्मक पहल अघि बढाइएको छ। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य भरत पराजुलीले आज तातोपानी भन्सार कार्यालयमा सरोकारवालासँग छलफल गर्दै नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलमा भन्सार प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय तथा शस्त्र प्रहरी बल का प्रमुखको सहभागिता रहेको थियो। सहभागीहरूले नाकामा देखिएको अवरोध, ढुवानी व्यवस्थापन, सुरक्षा व्यवस्था तथा व्यापार सञ्चालनका समस्याबारे विस्तृत रूपमा छलफल गरेका थिए।

माननीय पराजुलीले नाका सुचारु नहुँदा स्थानीय अर्थतन्त्र र दैनिक जनजीवनमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायलाई छिटो समाधानका लागि सक्रिय हुन निर्देशन दिएका छन्। उनले आवश्यक समन्वय र सहकार्यका माध्यमबाट तातोपानी नाकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने बताएका छन्।














