प्रधानमन्त्री बालेन्द्र शाहले बाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग क्षेत्रगत समस्या र आवश्यकताबारे छलफल गरेका छन्। उक्त छलफलमा सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद भरत प्रसाद पराजुलीले जिल्लाको समग्र विकासका लागि पूर्वाधार, पर्यटन, कृषि, ऊर्जा र विपद् व्यवस्थापन केन्द्रित २८ बुँदे महत्वाकांक्षी प्रस्ताव प्रस्तुत गरेका छन्।
पराजुलीले तातोपानी नाका व्यवस्थापन, अरनिको राजमार्ग पुनर्निर्माण तथा सीमा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षमै राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउन माग गरेका छन्। लामोसाँघुस्थित नेपाल ओरिएन्ट म्याग्नेसाइट उद्योगलाई PPP मोडेलमा सञ्चालन गर्नुपर्ने, प्रत्येक पालिकामा सडक, खानेपानी र सिँचाइ आयोजना विस्तार गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।

सिन्धुपाल्चोकलाई उच्च विपद् जोखिमयुक्त जिल्ला घोषणा गर्दै स्रोत–साधन सुनिश्चित गर्नुपर्ने, जलविद्युत् उत्पादन, पर्यटन पूर्वाधार विकास तथा स्थानीयलाई सेयर लगानीमा प्राथमिकता दिनुपर्ने माग पनि राखिएको छ। साथै, वन्यजन्तु नियन्त्रण नीति, कृषि उत्पादन भण्डारणका लागि कोल्ड स्टोर, तथा वैदेशिक रोजगारमा गएका जनशक्ति स्वदेश फर्काउने वातावरण निर्माणमा जोड दिइएको छ।













