काठमाडौं –लामो समयदेखि बन्द अवस्थामा रहेका सरकारी उद्योगहरू पुनः सञ्चालनमा ल्याउने उद्देश्यसहित नेपाल सरकारले सार्वजनिक–निजी साझेदारी (PPP) मोडेल अपनाउने प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले पहिलो चरणमा ती उद्योगहरूको विस्तृत अडिट तथा सम्पत्ति मूल्यांकन सुरु गरेको जनाएको छ।
पुनः सञ्चालनका लागि छनोट गरिएका उद्योगहरूमा गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी, सिन्धुपाल्चोकस्थित नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट, हेटौडा कपडा उद्योग तथा उदयपुर सिमेन्ट उद्योग रहेका छन्। यी उद्योगहरू विभिन्न कारणले वर्षौंदेखि बन्द रहँदा राज्यको ठूलो लगानी निष्क्रिय अवस्थामा थियो।

सरकारले PPP मोडेलमार्फत निजी क्षेत्रको पूँजी, प्रविधि र व्यवस्थापन क्षमता उपयोग गरी उद्योगहरूलाई पुनर्जीवन दिने लक्ष्य राखेको छ। यसबाट उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालयका अनुसार अडिट र मूल्यांकनपछि उद्योगहरूको संरचना, लगानीको आवश्यकता र सञ्चालन मोडेल स्पष्ट पारेर निजी क्षेत्रसँग साझेदारी प्रक्रिया अघि बढाइनेछ। सरकारले यो कदमलाई औद्योगिक पुनरुत्थानको महत्वपूर्ण सुरुआतका रूपमा लिएको छ।








