काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा अनुगमनका क्रममा गृहमन्त्री सुधन गुरुङ ले मापदण्ड विपरीत सञ्चालनमा रहेका सबै क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। बिपी राजमार्ग आसपासको क्षेत्रमा गएको वर्ष आएको बाढीपहिरोको मुख्य कारण अनियन्त्रित रूपमा गरिएको गिट्टी–बालुवा उत्खनन भएको भन्दै उनले गम्भीर चासो व्यक्त गरे।
उनले विगतमा राजनीतिक संरक्षण र मिलेमतोका कारण अवैध रूपमा क्रसर सञ्चालन भएको आरोप लगाउँदै अब त्यस्ता गतिविधि सह्य नहुने स्पष्ट पारे। “वैध–अवैध सबै क्रसरको छानबिन हुन्छ र नियमविपरीत सञ्चालन गरिएकालाई कडाइका साथ कारबाही गरिन्छ,” उनले चेतावनी दिए।

रोशीखोला क्षेत्रमा व्यापक रूपमा भइरहेको प्राकृतिक स्रोत दोहनले बाढीपहिरोको जोखिम बढाएको उल्लेख गर्दै उनले सम्बन्धित निकायको निष्क्रियताप्रति असन्तुष्टि जनाए। पनौती क्षेत्रमा दर्जनौँ क्रसर र खानी सञ्चालनमा रहेको तथ्यले अवस्था अझ गम्भीर बनेको उनको भनाइ थियो।
गत वर्ष असोजमा आएको बाढीपहिरोले पनौती नगरमा ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्मा एक विदेशी नागरिकसहित २० जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन्। नगरपालिकाका अनुसार सयौँ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका र धेरै घर अझै जोखिममा रहेका छन्।








