काठमाडौं – सेलेघाट–मन्थली सडक खण्डमा भएको भयावह बस दुर्घटनाप्रति अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीले गहिरो दुःख व्यक्त गर्नुभएको छ। उक्त दुर्घटनाले सम्पूर्ण यातायात क्षेत्र तथा सर्वसाधारणलाई स्तब्ध बनाएको उल्लेख गर्दै उहाँले ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
अध्यक्ष केसीले दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण सार्वजनिक गर्न, दोषीमाथि कानूनी कारबाही गर्न तथा सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले भविष्यमा यस्ता ठूला दुर्घटना दोहोरिन नदिन तत्काल समन्वित हवाई उद्धारको व्यवस्था, बेपत्ताहरूको प्रभावकारी खोजी, मृतकसरह क्षतिपूर्ति सुनिश्चित, बीमाविहीन सवारी सञ्चालनमा कडाइ, चालकलाई तनावमुक्त कार्य वातावरण तथा सडक दुर्घटना सचेतना कार्यक्रम सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो।
घाइतेहरूको उपचार जारी रहेको संवेदनशील अवस्थामा बन्द–हड्ताल जस्ता गतिविधिभन्दा शान्तिपूर्ण रूपमा जिल्ला प्रशासनमार्फत जायज माग राखी वार्ता र सहमतिबाट समस्या समाधान गर्नु नै उपयुक्त मार्ग हुने उहाँको भनाइ छ।
अखिल नेपाल यातायात मजदुर सङ्घले सरकार, सरोकारवाला निकाय तथा यातायात व्यवसायीहरूलाई दुर्घटनाबाट पाठ सिक्दै दीर्घकालीन सुधारतर्फ अघि बढ्न आह्वान गरेको छ।













