सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित बलेफी गाउँपालिकाले आम नागरिकको व्यापक जनगुनासोलाई सम्बोधन गर्दै भूमिकर (जग्गाको तिरो) मा भारी कटौती गरेको छ। गाउँकार्यपालिकाको सम्पन्न १८ औं अधिवेशनले विगतको तुलनामा ८० प्रतिशतले कर घटाउने ऐतिहासिक निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङका अनुसार, यसअघि किसानले प्रति रोपनी १०० रुपैयाँ कर तिर्दै आएकोमा अब त्यसलाई घटाएर प्रति रोपनी २० रुपैयाँ मात्र कायम गरिएको छ।नयाँ कर प्रणाली लागू भएपछि स्थानीय स्तरमा करको दर अस्वभाविक र अव्यवहारिक भएको भन्दै चर्को विरोध र गुनासो आएको थियो। “गाउँमै आएको सरकारले किसानसँग धेरै तिरो लियो” भन्ने नागरिकको असन्तुष्टिलाई मध्यनजर गर्दै अध्यक्ष तामाङले कर घटाउने प्रस्ताव अघि सार्नुभएको थियो।

गाउँसभाको १७औँ अधिवेशनमा प्रस्तुत विनियोजन विधेयक २०८२ माथि उपाध्यक्ष सरु लामाद्वारा पेश भएको संशोधन प्रस्ताव र ग्रिबिन्द्र कुमार चौलागाईंको संशोधन प्रस्तावमाथि विस्तृत छलफल भएको थियो। लेखा समिति संयोजक तेजबहादुर पराजुलीले पेश गरेको प्रतिवेदनका आधारमा कर घटाउने लगायतका प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका हुन्।
अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउत, विभिन्न वडाका अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा सहभागीहरूले कर प्रणालीलाई न्यायोचित र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए।
दोस्रो कार्यकालको अन्तिम चरणमा पुगेका जनप्रतिनिधिहरूले आगामी दिनमा पनि स्थानीय कर संरचनामा सुधार गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नयाँ संविधानपछि निर्वाचित स्थानीय सरकारको यस कार्यकालमा अब एउटा मात्र बजेट आउन बाँकी छ।













