काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको योगदानको स्मरण गर्दै सिंहदरबार, जङ्गीअड्डालगायत स्थानमा सालिकमा पुष्पहार अर्पण गरिएको छ।
यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोह आयोजना गरेको छ भने गोरखामा विशेष कार्यक्रमहरू भइरहेका छन्। नेपाली सेनाले पनि जङ्गीअड्डास्थित पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेको छ।

आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले बाइसे–चौबीसे राज्य एकीकृत गरी राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको आधार तयार गरेका थिए। पृथ्वी जयन्तीले राष्ट्रिय एकता, सुशासन र राष्ट्रहितलाई प्राथमिकता दिन प्रेरणा दिने दिवसका रूपमा मनाइन्छ।













