सिन्धुपाल्चोक । बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङको प्रमुख आतिथ्य तथा वडा नं. ७ का अध्यक्ष गृबिन्द्र कुमार चौलागाईंको विशेष आतिथ्यमा खाडीचौर बजार व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
खाडीचौर बजार व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। साथै बजार क्षेत्रमा सुरक्षित पार्किङको व्यवस्था, सडक दुर्घटना न्युनिकरण, आगलागीजन्य विपद्बाट बजारलाई सुरक्षित बनाउने उपाय तथा सरसफाइ व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले व्यवस्थित, सुरक्षित र सफा बजार निर्माणका लागि स्थानीय सरकार, बजार व्यवस्थापन समिति र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए। विशेष अतिथि चौलागाईंले बजार व्यवस्थापनमा अनुशासन र सचेतनाले दुर्घटना तथा जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
छलफल कार्यक्रममा सहभागी सरोकारवालाहरूले खाडीचौर बजारलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउन साझा प्रतिबद्धता जनाएका छन्।














