सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा परिवर्तन गरेको छ । गृह मन्त्रालयले पुस २१ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली तत्काल लागू भएको जनाएको छ।
संशोधित नियमावलीले विशेष गरी बाबुको पहिचान हुन नसकेका व्यक्ति, अनाथ बालबालिका र नाबालक परिचयपत्र लिने प्रक्रियालाई सहज र व्यवस्थित बनाउने लक्ष्य राखेको छ। नयाँ व्यवस्था अनुसार बाबुको पहिचान हुन नसकेको व्यक्तिले नागरिकता टोली वा प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची-४क बमोजिमको ढाँचामा स्वघोषणा गर्नुपर्नेछ । यदि निवेदन दिँदाका बखत आमाको मृत्यु भइसकेको वा होस ठेगानमा नभएको अवस्था भएमा निवेदकले चिकित्सकको सिफारिससहित स्वघोषणा गरी नागरिकता प्राप्त गर्न सक्नेछन् ।

पितृत्व र मातृत्वको ठेगान नभएका व्यक्तिको नागरिकता जारी गर्दा अब बाबु र आमाको नाम उल्लेख गर्ने ठाउँ खाली राख्न सकिनेछ। यस्तो अवस्थामा व्यक्तिको गोपनीयता र आत्मसम्मानलाई ध्यानमा राख्दै कुनै व्यहोरा उल्लेख नगरी खाली राख्ने र संरक्षक भएमा संरक्षकको नाम मात्र खुलाउने व्यवस्था गरिएको छ ।
१६ वर्ष उमेर पूरा नभएका बालबालिकाका लागि दिइने ‘नाबालक परिचयपत्र’का लागि नयाँ अनुसूची र प्रक्रिया तय गरेको छ । अब नाबालक परिचयपत्र लिन जन्म दर्ता प्रमाणपत्र, बाबु वा आमाको नागरिकता र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । यस्तो परिचयपत्र बालक १६ वर्ष पुगेपछि स्वतः रद्द हुने र त्यसपछि उसले नागरिकता लिनुपर्नेछ ।













