विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरु समस्यामा परेका छन् ।
गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ । पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै अलपत्र अवस्थामा रहेको छ ।

राष्ट्रिय व्यापार सङ्घका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले चाडपर्वका लागि सामान ल्याएका झण्डै २०० कन्टेनर केरुङ नाकामै थन्किएको बताए। “दसैँका लागि साउनमा चीनबाट आयात गरिएको सामग्री अझै केरुङ नाकामै अलपत्र छन्, नाकामा सामान रोकिँदा समस्यामा परिएको छ” ।
सिन्धुपाल्चोकको तातोपानी नाका अहिले फाट्टफुट्ट मात्रै सञ्चालनमा छ । वर्षाको कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि राम्रोसँग सञ्चालनमा आएको हो । सङ्घका पूर्वअध्यक्ष श्रेष्ठले केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीहरुले महङ्गो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयत गर्नुपरेको बताए ।
कोरोला नाकामा भने सामान ढुवानीका सवारीसाधनलाई प्रवेशमा कडाइ गरेको छ । उक्त नाकामा दैनिक चार/पाँच ढुवानीका सवारीले मात्र चीन प्रवेशका लागि पास पाउँदै आएको व्यवसायीको गुनासो छ । हाल उक्त चिसो मौसम सुरु भएपछि उक्त नाका बन्द रहेको छ । कोरोला नाकाबाट ल्याएको सामान मुस्ताङ, पोखरा हुँदै काठमाडौँ ल्याउनुपर्ने बाध्यता छ ।













